
पोखरा । चितवन राईनोजले पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा आफ्नो अपराजित यात्रालाई चौथो खेलमा पनि जारी राखेको छ । आज भएको खेलमा विराटनगर टाईटन्सलाई १८ रनले हराउदै चितवन फाईनलनजिक पुगेको हो ।
पोखरा रंगशालामा १ सय ४७ रनको लक्ष्य पछ्याएको विराटनगर ६ बल अगावै १ सय २८ रनमा समेटियो । लोकेश बमले ६२, पुनित मेहेराले २४ र नोमन खानले १८ रन बनाएपनि बिराटनगरलाई जितसम्म पुर्याउन सकेनन् ।
चितवनका करण केसी र भुवन कार्कीले समान ३ तथा रोहन मुस्तफाले २ विकेट लिए । सन्नी पटेलको नाममा १ विकेट रह्यो ।
यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रनको मध्यम योगफल तयार पारेको थियो । आरिफ शेखले सर्बाधिक ३९ रन बनाएको ईनिङसमा कप्तान पारस खड्काले ३५ रन बनाए । बिष्फोटक ब्याटिङ गरेका सन्नी पटेलले ८ बलमा २७ रन जोडे । बाबर हायातले २५, रोहन मुस्तफाले ७ र अनिल कुमार शाहले ३ रन बनाए । विराटनगरका किशोर महत्तो, जितेन्द्र मुखिया, पुनित मेहेरा र महम्मद जेईद आलमले एक एक विकेट लिए । यो हारसंगै विराटनगरको यात्रा समुहचरणमै सिमित बनेको छ ।
