
काठमाण्डौ । राजधानीमा जारी वुमेन च्याम्पियन्स लिग क्रिकेट डब्लुसीएलमा क्वाट क्विन्स काठमाडौंले पहिलो जित हात पारेको छ । आज भएको खेलमा पोखरा पल्टनलाई ८२ रनको फराकिलो अन्तरले हराउदै काठमाण्डौले तालिकामा अंक जोडेको हो ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा १ सय ५३ रनको लक्ष्य पछ्याएको पोखरा १९ बल अगावै ७० रनमा समेटिएपछि काठमाण्डौ फराकिलो जित निकाल्न सफल बन्यो । कप्तान सिता राना मगरले १७ तथा बिन्दु रावलले १३ रन जोड्नुबाहेक पोखराका अन्य ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन् । काठमाडौंकी सरस्वती कुमारी चौधरी र अप्सरी बेगमले समान २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ५ विकेट गुमाएर १ सय ५२ रनको उच्च योगफल तयार पारेको थियो । कप्तान रुबिना क्षेत्रीले अविजित ८३ रन बनाएको ईनिङसमा रोमा थापाले १९ र शोभा आलेले १२ रनको योगदान गरिन् । पोखराकी अनुराधा चौधरीले ४ तथा कविता कुँवरले १ विकेट लिईन् ।
