
काठमाण्डौ । साग क्रिकेटको उद्घाटन खेलमा नेपाली पुरुष टोली श्रीलंकासंग पराजित भएको छ । राजधानीको किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाललाई ६ विकेटले हराउदै श्रीलंकाले प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।
नेपालले दिएको १ सय ७३ रनको उच्च चुनौती श्रीलंकाले ५ बल अगावै ४ विकेट गुमाएर भेट्टायो । अशनले अविजित ७२ रन बनाएको श्रीलंकन ईनिङसमा निशान मदुष्काले ४६ रनको योगदान गरे । पाथुम निसांकाले ३० र असेन बन्दराले १० रन बनाए । नेपालका पवन सर्राफले २ तथा सोमपाल कामी र सुशन भारीले समान १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ थालेको नेपालले ५ विकेट गुमाएर १ सय ७२ रनको सम्मानजनक योगफल तयार पारेको थियो । उपकप्तान दीपेन्द्र सिंह ऐरीले अविजित ७२ रन बनाएको ईनिङसमा पवन सर्राफले २२ तथा कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले समान २१ रन बनाए । श्रीलंकाका कामिन्दु मेन्डिसले २ तथा दुबिन्दु तिलकारत्ने, काभिस्का अन्जुला र असिथा फार्नान्डोले समान एक विकेट लिए । नेपालले आफ्नो दोस्रो खेलमा बिहिबार कमजोर प्रतिद्धन्दी भुटानुंग खेल्नेछ ।
