
काठमाण्डौ । नेपालले साग पुरुष क्रिकेटमा कास्य पदक हात पारेको छ । आज भएको तेस्रो स्थानको प्रतिस्पर्धामा माल्दिभ्सलाई ५ विकेटले हराउदै नेपालले कास्य पदक हात पारेको हो । माल्दिभ्सले दिएको ९५ रनको चुनौती नेपालले २३ बल अगावै ५ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा आरिफ शेखले ३२ रनको योगदान गरे । कप्तान ज्ञानेन्द्र मल्लले २२ र बिनोद भण्डारीले १२ रन बनाए । ओपनर पारस खडेका ३ रनमा आउट भएको खेलमा दिपेन्द्रसिंह ऐरी २ रनमा पभेलियन फर्किए । रोहित कुमार पौडेल १५ र पवन सर्राफ १० रनमा अबिजित रहेदै टोलीलाई जित दिलाए । माल्दिभ्सका उमर एदमले नेपालको ३ विकेट लिए । लिम साफिगको नाममा १ विकेट रह्यो ।
यसअघि काठमाण्डौको किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको माल्दिभ्सले ९ विकेट गुमाएर ९४ रनको योगफल तयार पारेको थियो । माल्दिभ्सको ईनिङसमा लिम साफिगले सर्बाधिक १९ रन बनाए । महम्मद रिसवानले १७, महम्मद माफुजले १६, अमिल मौरुफले १३ र उमार एदमले ११ रन जोडे । नेपालका ललित नारायण राजवंशीले ३, सुसन भारीले २ तथा पारस खड्काले १ विकेट लिए । माल्दिभ्सका ३ ब्याट्सम्यान रनआउट भएका थिए ।
पुरुष क्रिकेटको स्वर्णका लागि आजै बंगलादेश र श्रीलंकाबिच प्रतिस्पर्धा हुनेछ ।
