
काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फको स्पर्धा आजबाट सुरु हुदैछ । क्रिकेटको उद्घाटन खेलमा नेपालले आज श्रीलंकाको २३ बर्ष मुनीको टोलीसंग प्रतिस्पर्धा गर्दैछ । राजधानीको किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा बिहान ११ बजे नेपाल र श्रीलंकाबिचको प्रतिस्पर्धा सुरु हुनेछ । नेपाली टोली ज्ञानेन्द्र मल्लको कमानीमा मैदान उत्रनेछ । श्रीलंकाली टोलीमा सिनियर टोलीका ३ खेलाडी मात्र रहेका छन् ।
५ राष्ट्र सहभागि क्रिकेटमा सबै टोलीले एकले अर्कासंग प्रतिस्पर्धा गरेपछि स्वर्ण र कास्यका लागि खेल हुनेछ । नेपालले पुरुष क्रिकेटमा कम्तीमा रजत पदक हात पार्ने योजना बनाएको छ । त्यसका लागि बलिया २ टोली बंगलादेश र श्रीलंकासंगको खेल नेपालका लागि निक्कै महत्वपुर्ण रहेको छ ।
