
काठमाण्डौ । सिंगापुरमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आज भएको खेलमा घरेलु टोली सिंगापुरलाई ९ विकेटले हराउदै नेपालले सिरिजमा शानदार जित हात पारेको हो ।
सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले २४ बल अगावै १ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान पारस खड्काले अबिजित १ सय ६ र आरिफ शेखले ३९ रनको योगदान गरे । मात्र ५२ बलको सामना गरेका पारसले ९ छक्का र ७ चौकाको मद्धतमा १ सय ६ रन बनाएका हुन् । ओपनर ईशान पाण्डे ५ रनको ब्यक्तिगत स्कोरमा पभेलियन फर्किएपनि पारसले शेखसंग दोस्रो विकेटका लागि १ सय ४५ रनको साभेदारी गर्दै नेपालको जित निश्चित पारेका थिए । सिंगापुरका जनक प्रकाशले एक विकेट लिए ।
योसंगै नेपालले विश्वकप क्रिकेटको एसियाली छनोट अन्र्तगत गत जुलाईमा भोगेको हारको बदला समेत लिएको छ ।
यसअघि सिंगापुरस्थित ईण्डियन एसोसिएसनको मैदानमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको सिंगापुले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रनको योगफल तयार पारेको थियो ।
उसको ईनिङसमा कप्तान टिम डेभिडले सर्बाधिक ६४ रन बनाए । सुरेन्द्र चन्द्रमोहनले ३५, जनक प्रकाशले २५ र मनप्रित सिंहले १५ रन बनाए । पहिलो विकेटका रुपमा ओपनर रोहन रंगराजन ६ रनमा पभेलियन फर्किएपनि डेभिड र चन्द्रमोहनले सिंगापुरलाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए । नेपालका करण केसी २ तथा सुसन भारीले समान एक विकेट लिए ।
नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार जिम्बावेसंग प्रतिस्पर्धा गर्नेछ ।
