
काठमाण्डौ । पाकिस्तानमा भेट्ने वाचा सहित १३ औ दक्षिण एसियाली खेलकुद साग सम्पन्न भएको छ । काठमाण्डौ, पोखरा र जनकपुरमा १० दिनसम्म चलेको साग खेलकुदको आज समापन गर्दै पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको हो ।
समापन समारोहलाई सम्बोधन गर्दै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले भब्य रुपमा साग सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गर्नुभयो । उहा“ले निक्कै भब्य रुपमा प्रतियोगिता सम्पन्न भएको बताउदै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैमा आभार प्रकट गर्नुभयो ।
राखेप सदस्यसचिव रमेश सिलवालले १३ औ सागको सफलताले नेपालले ठुला प्रतियोगिता पनि आयोजन ागर्न सक्छ भन्ने सन्देश दिएको बताउनुभयो । निक्कै कठिन अवस्थाबाट पनि प्रतियोगिता सफल आयोजना गर्न सहयोग गर्ने खेलाडी, खेल संघ, तथा सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुभयो । घरेलु मैदानमा ऐतिहासिक पदक पनि हात पार्न सफल भएकाले मुलकभर खुसीयाली छाएको सिलवालको भनाई थियो ।
यसैबिच ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले १४ औ साग आयोजक पाकिस्तान ओलम्पिक कमिटिका अध्यक्ष सईद आरिफ हसनलाई झण्डा हस्तान्तरण गर्नुभएको छ । दक्षिण एसियाली ओलम्पिक कमिटिको बैठकले गरेको निर्णय अनुसार १४ औ सागको आयोजना गर्ने जिम्मेबारी पाकिस्तानले पाएको हो ।
