
एजेन्सी । पाकिस्तानविरुद्धको दोस्रो टी–२० क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । क्यानबेरामा आज भएको खेलमा ७ विकेटको शानदार जित निकाल्दै घरेलु टोलीले ३ म्याचको सिरिजमा १–० को अग्रता बनाएको हो । यी २ राष्ट्रबिचको पहिलो टी–२० क्रिकेट बर्षाका कारण नतिजाबिहिन भएको थियो ।
पाकिस्तानले दिएको १ सय ५१ रनको मध्यम लक्ष्य अष्ट्रेलियाले ९ बल अगावै ३ विकेट गुमाएर भेट्टायो । उसको जितमा स्टेभन स्मिथले अविजित ८० रनको योगदान गरे । बेन डेर्मोटले २१ र डेभिड वार्नरले २० रन बनाए । पाकिस्तानका मोहमद इरफान, इमाद वासिम र मोहमद आमिरले समान एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेट गुमाएर १ सय ५० रनको सम्माजनक योगफल तयार पारेको थियो । इफ्तीहार अहमदले अबिजित ६२ कप्तान बाबर आजमले ५० रन बनाएको पाकिस्तानी ईनिङसमा मोहमद रिजवानले १४ तथा इमाद वासिमले ११ रन बनाए ।
अष्ट्रेलियाका अस्टन अगरले २ तथा केन रिचार्ड्सन र पाट कुमिन्सले समान एक विकेट हात पारे । यी दुई राष्ट्रबिचको तेस्रो तथा निर्णायक खेल शुक्रबार पर्थमा हुनेछ ।
