
काठमाण्डौ । नेपाली क्रिकेटको विकासमा छिमेकि मुलुकको साथ निक्कै न्युन मात्रामा रहेको छ । मुख्यगरी विश्व क्रिकेटमा एकछत्र राज गर्दै आएको दक्षिणी छिमेकी भारतले नेपाली क्रिकेटको विकासमा सामान्य सहयोग पनि नगरेको भन्ने आरोप विगत लामो समयदेखी लाग्दै आएको छ । आईसीसीका औपचारिक प्रतियोगीता बाहेक नेपाली क्रिकेट टोली र भारतीय क्रिकेट टोलीबिचमा सामान्य परिचयसम्म पनि छैन् । अफगानिस्तानको क्रिकेट विकासमा जसरी पाकिस्तानको हात रह्यो, त्यो अवस्था नेपालका लागि कुनै छिमेकीबाट अहिले सम्म भएको देखिएन् ।
विश्व क्रिकेटको सर्बोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीलाई समेत प्रभाव पार्न सक्ने क्षमता भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड पनि नेपालका लागि आईसीसी भन्दा टाढाको अभिभावकको रुपमा रहेको छ । निक्कै कठिन अवस्थाको सामना गरेको नेपाली क्रिकेटलाई त्यसबाट मुक्त गराउन एक शब्दसम्म नबोलेको भारत, अहिले धमाधम आफ्ना कोचलाई नेपाल पठाउने रणनितिमा लागेको छ ।
नेपाली क्रिकेटको अवस्थामा निक्कै सुधार देखिएसंगै बीसीसीआईकै दबावमा आईसीसीले भारतीय नागरिक वुरिटी भेन्कटरामलाई नेपालको बलिङ प्रशिक्षक नियुक्त गरेको छ । बीसीसीआईको लेभल ३ प्रशिक्षकको रुपमा मात्र रहेका भेन्कटराम अहिले छोटो समयका लागि टोलीमा रहने बताइएपनि भारतीय बोर्डले लामो समयसम्म नेपालमै रहुन भन्ने चाहाना राखेको छ ।
टोलीको मुख्य प्रशिक्षकमा पनि भारतीय उमेश पटवाल रहेकाले नेपाली टोलीको प्रशिक्षणको पाटोमा पुर्ण रुपमा भारत हावी छ । तर अन्य पाटोमा भने उसको भुमिका कतै देखिदैन । राष्ट्रिय टोलीका एक सदस्य भन्छन– भारतीय बोर्डकै दबावमा मासिक चर्को मुल्य तिरेर आएका प्रशिक्षकबाट उत्कृष्ट प्रशिक्षण भन्दा पनि प्रक्रिया पुरा मात्र भएको देखिन्छ । प्रशिक्षणको पाटोमा उपलब्धी हासिल हुने संभावना निक्कै कम छ ।
उनको भनाईले पनि जागीर खान कै लागी भारतबाट प्रशिक्षक नियुक्त हुने क्रम बढेको पुष्टि हुन्छ । पछिल्ला दिनहरुमा खस्कदै गएको प्रर्दशनलाई माथी उठाउनुको सट्टा क्रिकेट बोर्ड नभएको मौकामा अन्यले खेल्न पाएको अवस्थाले नेपाली क्रिकेटको विकासमा निक्कै चुनौती थपिने आंकलन पनि हुन थालेको छ ।
