
काठमाण्डौ । श्रीलंकामा जारी अण्डर १९ एसियाकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसामु २ सय ६२ रनको चुनौती प्रस्तुत गरेको छ । कोलम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा टस जितेको बंगलादेशले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रनको सम्मानजनक योगफल तयार पारेको हो ।
पवन सर्राफले ८१ रन बनाएको नेपालको ईनिङसमा सन्दिप झोराले ५६ , रित गौतमले ३२ र कुशल मल्लले २८ रन बनाए । भीम सार्कीले २१ रन जोडे । कप्तान रोहित कुमार पौडेलले १४ र आसिफ शेख ३ रन बनाएर पभेलियन फर्किए ।
बंगलादेशका महमम्द साहिन अलोम र तान्जीम हसनले समान २ तथा राकिबुल हसन, मिन्हुजुर रहमान, महम्मद मिथुन्जोए, र ताहिद हृदोएले समान एक विकेट लिए ।
पहिलो खेलमा युएईलाई सहज रुपमा पराजित गरेको बंगलादेश अर्को एसोसिएट राष्ट्र नेपालबिरुद्ध पनि त्यस्तै जितको अपेक्षासहित मैदान उत्रिएको छ । आयोजक श्रीलंकासंग पहिलो खेलमा हार भोगेको नेपाललाई सेमिफाइनल प्रबेशको संभावना कायम राख्न बंगलादेशबिरुद्ध जित्नै पर्ने दबाव रहेको छ ।
