
काठमाण्डौ । विश्वकप फुटबलको दोस्रो चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज मलेसियन सुपर लिग बिजेता क्लबसंग मैत्रीपुर्ण खेल खेल्दैछ । मलेसियन सुपर लिग बिजेता जोहार दारुल ताजिमसंगको खेल मलेसियाको हाजी हसन युनोस स्टेडियममा नेपाली समयानुसार साझ साडे ६ बजे सुरु हुनेछ ।
मलेसियन क्लबबिरुद्ध नेपाली टोली सुजल श्रेष्ठको कमानीमा मैदान उत्रनेछ । मुख्य खेलाडीहरु टोली बाहिर रहेकाले नेपाली टोलीमा यसपटक नयाँ खेलाडीले मौका पाउने संभावना छ । गोलरक्षक किरण चेम्जोङ जापानमा रहेकाले गोलपोष्ट विकेश कुथुले सम्हाल्ने संभावना छ । त्यस्तै टोलीका भरपर्दा मिडफिल्डर रोहित चन्दको स्थानमा बिशाल राई वा सन्तोष तामाङले मौका पाउने संभावना छ ।
विश्वकप फुटबलको दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले भदौ १९ गते कुवेतसंग उसैको घरेलु मैदानमा खेल्ने छ ।
