
काठमाण्डौ । विश्वकप छनोट फुटबल अन्र्तगत दोस्रो चरणको खेलमा नेपालले आज कुवेतसंग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चाङलीमिथाङ रंगशालामा नेपाली समयानुसार अपरान्ह पौने ३ बजे नेपाल र कुवेतबिचको प्रतिस्पर्धा सुरु हुनेछ । अवे खेलमा कुवेतसंग ७–० को फराकिलो हार भोगेको नेपाल तटस्थ भुमीमा भने सुधारिएको खेल खेल्दै कम्तीमा अंक खोस्ने योजनामा रहेको छ । घरेलु मैदानमा खेल्नु पर्ने खेल दशरथ रंगशालाको पुर्ननिर्माण नसकिएपछि भुटानमा हुन लागेको हो । टोलीका मुख्य प्रशिक्षक योहान कालिनले तटस्थ भुमीमा नेपाली टोली संयमित रुपले मैदान उत्रने बताउदै कम्तीमा अंक जोड्ने लक्ष्यमा आफ्नो टोली मैदान उत्रने बताउनुभयो । भुटानमा नेपालको जस्तै मौसम रहेकाले चिसो खाडीको टोलीबिरुद्ध बदला लिने नेपालको लक्ष्य छ । तर त्यसका लागि टोलीले कठिन मेहनत गर्न आवश्यक छ ।
४ खेलबाट ७ अंक जोडेको कुवेत समान अंक भएको जोर्डनलाई पछि पार्दै समुह बीको दोस्रो स्थानमा रहेको छ । उसको लक्ष्य वरियतामा ११ स्थान तल रहेको नेपालबिरुद्ध ठुलो गोलअन्तरको जित निकाल्नु नै हुनेछ ।
स्टाइकर बिमल घर्तीमर, मिडफिल्डर अन्जन बिष्ट, डिफेन्डरहरु सन्तोष तामाङ र दिनेश राजवंशी एन्फाको अनुशासन कारबाहिमा परेपछि नेपाली टोलीमा आज निक्कै फेरबदल हुनेछ ।
