Logo

नेपालले आजबाट एमसीसीसंग तीन दिवसीय खेल खेल्दै

ई-खेलकुद २०७६ कात्तिक २० , बुधबार ०७:११ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज १४ बर्षपछि तीन दिवसीय क्रिकेट खेल्दैछ । नेपाल भ्रमणमा रहेको ईङल्याण्डको मेरिलिबोन क्रिकेट क्लब एमसीसीसंग नेपालले तीन दिवसीय खेल खेल्न लागेको हो । राजधानीको किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा बिहान साढे ९ बजे खेल सुरु हुनेछ ।
आईसीसीले प्रथम श्रेणीको मान्यता दिएको खेलमा नेपाली टोली ज्ञानेन्द्र मल्लको कमानीमा मैदान उत्रनेछ । भ्रमणकारी एमसीसीको टोली जीमी एडम्सको कप्तानीमा नेपालबिरुद्ध प्रर्दशन गर्नेछ ।
सन् २००५ मा ईन्टरकन्टिनेन्टल खेल खेले पश्चात नेपालले लामो अन्तरालमा तीन दिवसीय खेल खेल्न लागेको हो । नेपालले यसअघि युएईसंग २ तथा मलेसीया र हङकङसंग एक एक गरी ४ वटा तीनदिवसीय खेल खेलेको छ । जसमा २ खेलमा नेपालले जित हात पारेको थियो भने बाँकि २ खेल बराबरीमा सकिएका थिए । एमसीसीबिरुद्ध मैदान उत्रदा अधिकांश नेपाली खेलाडीको तीन दिवसीय खेलमा डेब्यु हुनेछ । वर्तमान टोलीका शरद भेषावकर र सोमपाल कामी बाहेक सबै खेलाडी पहिलो पटक तीन दिवसीय क्रिकेट खेल्दैछन् । कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरीसंगै आरिफ शेख, बसन्त रेग्मी, बिनोद भण्डारी,करण केसी ललितनारायण राजवंशी, रोहित पौडेल, सन्दिप लामिछाने, जितेन्द्र मुखिया, पवन सर्राफ र राजु रिजालले फस्ट क्लास म्याचमा डेब्यु गर्नेछन् । यसअघि भएको एकदिवसीय खेलमा ५ विकेटको जित हात पारेको नेपाल सोहि लय कायम राख्दै घरेलु मैदानमा अर्को ईतिहास बनाउने योजनामा रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?