
काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले पाँचौ दिनका खेल जारी रहदा थप ४ स्वर्ण हात पारेको छ । नेपालले आज साईकिलिङमा २ तथा पौडी र उसुमा एक एक स्वर्ण हात पारेको हो ।
साइक्लिङको क्रस कन्ट्री पुरुषमा नेपालले स्वर्ण जितेको छ । । क्रस कन्ट्रीको ४ किमिको ४ ल्यापमा नेपालका वुद्धि बहादुर तामाङले स्वर्ण जितेका हुन् । उनले १ घण्टा १९ मिनेट ०८ सेकेण्डको समय निकाल्दै स्वर्ण हात पारे । सो स्पर्धामा नेपालका राजिब राईले रजत र नेपालकै ओकेश राज बज्राचार्यले कास्य जिते । महिलातर्फ नेपालकै लक्ष्मी मगरले स्वर्ण जित्दा उषा खनालले रजत जितिन् ।
पौडी अन्तर्गत २ सय मिटर फ्रिस्टाईलमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितिन् । उनले २ मिनेट ०५ दशमलव ०६ सेकेण्डको टाईमिङ निकाल्दै स्वर्ण हात पारिन् ।
उसुको थाउलो नान्दोमा नेपालकी निमा घर्ति मगरले स्वर्ण जितेकी छिन् । लगनखेलस्थित आर्मीको कभर्डहलमा कुल १८.९१ अंक जोडेर निमाले स्वर्ण जितेकी हुन् । निमा उसुमा लगातार दुई स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् ।
