
साउन ३०, काठमाण्डौ ।
अफगानिस्तानबिरुद्धको दोस्रो मैत्रीपुर्ण भलिबल खेलमा नेपालले पुनरागमन जित हात पारेको छ । ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मीको कर्भड हलमा आज भएको दोस्रो खेलमा अफगानिस्तानलाई ३–२ को सेटले पराजित गर्दै दुबै मैत्रीपुर्ण खेलमा जित हासिल गरेको हो । चोटका कारण कप्तान ईम राना मगर बिनै कोर्टमा उत्रिएको नेपालले सुरुवाती २ सेट २२–२५, १५–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा समान २६–२४ को जित निकाल्दै नेपाल खेलमा फर्किएको थियो । निर्णायक सेटमा १५–१२ को सहज जित निकाल्दै नेपालले दोस्रो मैत्रीपुर्ण खेल पनि आफ्नो पक्षमा पारेको हो ।

पहिलो सेटमा प्रतिस्पर्धात्मक खेल खेलेको नेपालले दोस्रो सेटमा भने निक्कै कमजोर प्रर्दशन गरेको थियो । रिसिभिङ र डिफेन्सीफ दुबैमा कमजोर देखिएपनि नेपालले तेस्रो, चौथो र पाँचौ सेटमा भने लय समाएको थियो ।
नेपालमा भदौ २ देखी ७ सम्म हुने एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता अघि नेपाल र अफगानिस्तानबिच २ खेलको मैत्रीपुर्ण सिरिज भएको हो । एसियन भलिबल संघको संयोजनमा आयोजना हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।