
पोखरा । काठमाण्डौ गोल्डेनले पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको प्लेअफ पुग्ने संभावना कायमै राखेको छ । आज भएको खेलमा विराटनगर टाईटन्सलाई ३६ रनले हराउदै काठमाण्डौले अघिल्लो चरण प्रबेशको संभावना जिवितै राखेको हो । काठमाडौंले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको विराटनगर २ बल अगावै १ सय २३ रनमा समेटियो । पुनित मेहेराले ५३ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । कप्तान प्रदिप ऐरीले २९ र नोमन खानले २५ रन बनाए । काठमाडौंका सुबोध भाटीले ३ तथा बसन्त रेग्मी र अमर सिंह रौटेलाले समान २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ५ विकेट गुमाएर १ सय ५९ रनको सम्मानजनक योगफल तयार पारेको थियो । काठमाडौंका लागि जयक्रिशन कोल्शावालाले ५५ रनको योगदान गरे । कप्तान ज्ञानेन्द्र मल्लले ४५ र अमित श्रेष्ठले १७ रन बनाए ।
विराटनगरका पुनित मेहेराले २ विकेट लिए । विराटनगरको यो दोस्रो हार हो ।
