
एजेन्सी । सिंगापुरमा भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जिम्बावेले जितेको छ । गएराती भएको समुहचरणको अन्तिम खेलमा आयोजकलाई ८ विकेटले हराउदै जिम्बावेले सिरिज अआफ्नो नाममा लेखाएको हो ।
सिंगापुरस्थित इन्डियन एसोसियसन क्रिकेट मैदानमा घरेलु टोलीले दिएको १ सय ६८ रनको उच्च चुनौती जिम्बावेले ४ बल अगावै २ विकेट गुमाएर भेट्टायो । पिटर मुरले ९२ र टोनी मुन्योगाले ४४ रन बनाएपछि जिम्बावेले सहज रुपमा लक्ष्य भेटेको हो ।
यसअघि ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रनको सम्मानजनक योगफल तयार पारेको थियो । सिंगापुरको ईनिङसमा सुरेन्द्ररन चन्द्रमोहनले ६६ र टिम डेभिडले ४७ रन बनाए । जिम्बावेका डेनील जिकेलले २ विकेट लिए ।
४ खेलबाट ६ अंकसहित जिम्बावेले उपाधि जितेको हो । पहिलो खेलमा आयोजकसंग ४ रनले पराजित भएको जिम्बावेले सिंगापुरसंगको दोस्रो खेलमा बदला लिदै उपाधि आफ्नो नाममा लेखाएको हो ।
नेपाल समेत सहभागी सिरिजमा सिंगापुरको हारले नेपाललाई दोस्रो स्थानमा यथावत राखेको छ । आयोजकसंग समान ३ अंक भएपनि नेटरनरेटमा नेपाल अघि रहेको हो ।
