
काठमाण्डौ । सिंगापुरमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक सिंगापुरसंग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेसंगका दुबै खेलमा हार भोगेको नेपाल, सिंगापुरसंग भने यसअघिकै नतिजा हात पार्ने योजनामा रहेको छ । सिंगापुरस्थित ईण्डियन एसोसिएसन क्रिकेट मैदानमा नेपाली समयानुसार साँझ सवा ५ बजे नेपाल र सिंगापुरबिचको खेल सुरु हुनेछ ।
जिम्बावेसंग अन्तिम खेल खेल्न बाँकि रहेको सिंगापुर त्यसअघि नै नेपाललाई हराउदै उपाधि यात्रा बलियो बनाउने लक्ष्यमा छ । यसअघि भएको पहिलो खेलमा पारस खड्काको शतक मद्धतमा नेपालले सिंगापुरमाथी ९ विकेटको शानदार जित हात पारेको थियो ।
सिंगापुरपछि नेपाल ५ राष्ट्र सहभागी सिरिज खेल्न ओमान जानेछ । ओमानमा नेपालले घरेलु टोलीसंगै आयरल्याण्ड, नेदरल्याण्ड्स र हङकङ सहभागी सिरिजमा प्रतिस्पर्धा गर्नेछ ।
