Logo

टर्कीको पोष्टमा नेदरल्याण्ड्सको ६ गोल,डिपाएको ह्याट्रिक

ई-खेलकुद २०७८ भदौ २३ , बुधबार ०६:०९ मा प्रकाशित

एजेन्सी । कतारमा अर्को बर्ष हुने विश्वकप फुटबलको युरोपेली छनोटमा नेदरल्याण्ड्सले शानदार जित दर्ता गरेको छ । घरेलु मैदान योहान क्रुएफ एरिनामा भएको खेलमा उसले टर्कीलाई ६–१ गोल अन्तरले हराएको हो । उसको जितमा मेम्फिस डिपाएले ह्याट्रिक गरे । डेभी क्लासेन, गुस टिल र डोनेल मालेनले एक एक गोल गरे । टर्कीका सेन्गुइज अन्डरले एक गोल फर्काए ।

खेलको पहिलो मिनेटमा नै डेभी क्लासेनले मेम्फिस डिपाएको एसिष्टमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । १६औं मिनेटमा डेभी क्लासेनको पासमा मेम्फिस डिपाएले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ३८औं मिनेटमा डिपाएले पेनाल्टीमा गोल गरेपछि पहिलो हाफमै डच टोली ३–० को बलियो अवस्थामा पुगेको थियो । खेलको ४४ औ मिनेटमा काग्लर सोयुन्कु दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टर्की १० खेलाडीमा समेटिएको थियो ।

५४औं मिनेटमा डिपाएले अर्को गोल गर्दै ह्याट्रिक पुरा गरेपछि घरेलु टोलीले खेलमा ४–० को अग्रता लियो । ८०औं मिनेटमा गुस टिलले तथा ९०औं मिनेटा डोनेल मालेनले गोल गर्दै डच टोलीको जित पक्का गरे । इन्ज्युरी समयमा सेन्गुइज अन्डरले टर्कीका लागि सान्त्वना गोल गरे । जितसँगै समूह ‘जी’ मा नेदरल्यान्ड्स ६ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान अंक भएपनि गोल अन्तरमा पछि पर्दै नर्बे दोस्रो स्थानमा छ । टर्की भने ११ अंकमा समुहको तेस्रो स्थानमा छ ।
यसै समूहको अर्को खेलमा नर्वेले जिब्राल्टारमाथि ५–१ को फराकिलो जित दर्ता गर्दा मोन्टेनेग्रो र लात्भियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?