
बिर्तामोड– शारिरीक सुगठनका उमेश राई झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी (पुरुष) घोषित भएका छन् । साउथ एसियन च्याम्पियन राईले सो विधाको मनोनयनमा परेका शारिरीक सुगठनकै राम दाहाल र नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर नवयुग श्रेष्ठलाई पछि पारे । बर्ष उत्कृष्ट खेलाडी बनेका राईले अवार्ड संगै यामाहा कम्पनीको एक थान मोटरसाइकल प्राप्त गरे ।
झापा स्पोर्टस् अवार्डको बर्ष उत्कृष्ट खेलाडी ०७५ महिलातर्फको अवार्ड कराँतेकी एस्तर राईले जितिन । एसियन क्रिकेट फेडेरेसन (एकेएफ) केडेट च्याम्पियन राईले सो विधाको मनोनयनमा परेका महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो र भलिवलकी बिनिता बुढाथोकीलाई पछि पारिन । बर्ष उत्कृष्ट खेलाडीको अवार्ड विजेता राईले यामाहा कम्पनीको एक थान स्कुटर प्राप्त गरिन ।
यस्तै बर्ष उत्कृष्ट खेलाडी युवाको अवार्ड क्रिकेटर अप्सरी बेगमले जितेकी छन् । सो विधामा मनोनयनमा परेका फुटबलका छिरिङ गुरुङ र ब्याटमिन्टनकी अमिता गिरीलाई पछाडि पारेकी थिइन । युवा बर्ष खेलाडी भएकी बेगमले नगद २५ हजार रुपैयाँ प्राप्त गरिन ।
यस्तै उत्कृष्ट प्रशिक्षकतर्फको अवार्ड महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले जितेका छन् । उनले बक्सिङका डम्बर लिम्बू र कराँतेका प्रशिक्षक योगेश राईलाई अछाडि पारे । खड्काले अवार्ड संगै नगद २५ हजार रुपैयाँ हात पारे । यस्तै पिपुल्स च्वाइजको अवार्ड झापाली फुटबलर कर्ण लिम्बूले जिते । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार झापा धुलाबारीका भलिवल प्रशिक्षक गणेश विक्रम नेम्वाङले प्राप्त गरेका छन् । उनले अवार्ड संगै नगद ३५ हजार रुपैयाँ प्राप्त गरे । करीब ५ दशकदेखि भलिवल खेलमा आबद्ध रहेका नेम्वाङ हाल पनि प्रशिक्षकको रुपमा क्रियाशील छन् । नेम्वाङ जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत हुन् ।
०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर स्वर्गीय आशिष विक्रम नेम्वाङको स्मृतिमा अवार्ड पछिल्लो तीन बर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।
