
बिर्तामोड । झापा स्पोर्टस अवार्डको तेस्रो संस्करण असोजको दोस्रो साता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाको नवनिर्वाचित कार्यसमितीको आज बसेको बैठकले झापा स्पोर्टस अबार्ड असोज दोस्रो साता गर्ने निर्णय गरेको हो । बैठकले अवार्ड समारोह संयोजकको जिम्मेबारी बुद्ध तामाङ र सहसंयोजकको जिम्मेबारी सचिन सुब्बालाई प्रदान गरेको छ ।
मञ्चका अध्यक्ष हिमाल खरेलको अध्यक्षतामा बसेको बैठकले तेस्रो संस्करणको अबार्ड असोज दोस्रो साता गर्ने निर्णय गरेको हो । यद्यपी यकिन मिति भने कार्यसमितिको पुर्णता पछि मात्र तय गरिने सचिव अर्जुन राजवंशीले जानकारी दिनुभयो ।
मञ्चको झापा शाखाले विगत दुई वर्षयता स्पोर्टस् अवार्ड कार्यक्रम गर्दै आएको छ । अवार्ड कार्यक्रममा वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार, उत्कृष्ट वर्ष प्रशिक्षकलाई नगद २५ हजार, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ३५ हजार रुपैयाँ सहित सम्मान गरिने अध्यक्ष खरेलले जानकारी दिनुभयो । केन्द्रमा हुने अबार्ड जस्तै खेलकुद पत्रकार मंञ्चका झापा र कास्की शाखाले स्पोर्टस् अबार्ड वितरण गर्ने गरेका छन् । खेलाडी र प्रशिक्षकको उत्प्रेरणा र हौसला बढाउने उदेश्यले थालिएको अबार्ड कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने झापा समन्वयन शाखाले यसअघि नै बताईसकेको छ ।
बैठकले मञ्चको सल्लाहकारमा निवर्तमान अध्यक्ष रमेश समदर्शी, साधारण सदस्यहरु इन्द्रजीत मुखिया, तीर्थ सिग्देल, विशाल नेम्वाङ र कुमार भट्टराईलाई चयन गरेको छ ।
