Logo

जिम्बाब्वे ए विरुद्वको वन डे सिरिज नेपाललाई, निर्णायक खेलमा नेपाल ६ विकेटले विजयी

ई-खेलकुद २०७९ वैशाख २६ , सोमबार ०५:०५ मा प्रकाशित

काठमाडौं । नेपालले जिम्बाब्वे ए विरुद्वको एकदिवसीय सिरिज जितेको छ । तेस्रो तथा निर्णायक खेलमा आज भ्रमणकारी टोलीलाई ६ विकेटले हराउँदै नेपालले तीन म्याचको सिरिज २–१ ले जितेको हो । जिम्बाब्वेले दिएको २ सय १४ रनको चुनौती नेपालले १७ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले ८४ रनको योगदान गरे । दिपेन्द्रसिंह ऐरी ६० र बिनोद भण्डारी २८ रनमा अबिजित रहँदै नेपाललाई जित दिलाए । आसिफ शेखले २९ रन बनाए । जिम्बाब्वेका ब्रेन्डन माभुताले ३ तथा ब्राड इभान्सले एक विकेट लिए ।
यसअघि किर्तिपुरस्थित बित्रि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको भ्रमणकारी टोली ३२ दशमलव १ ओभरमा २ सय १३ रनमा अलआउट भएको थियो । ओसिलो आउटफिल्डका कारण ढिला सुरु भएको खेल ३३ ओभरमा झारिएको थियो । जिम्बाब्वेका लागि ताडिवान्से मारुमानीले सर्बाधिक ५० रन बनाए । खुदजाइ माउन्जेले ३९ र रोए कियाले ३६ रन जोडे । कप्तान टोनी मुनयोंगाले २४ रन बनाए । नेपालका किशोर महत्तोले ५ तथा सोमपाल कामीले २ विकेट लिए । करण केसी र दिपेन्द्रसिंह ऐरीको नाममा एक विकेट रह्यो । जिम्बाब्वेका एक ब्याट्सम्यान रनआउट भएका थिए । पहिलो खेलमा ३ विकेटको हार भोगेको नेपालले दोस्रो खेलमा ७ विकेटको प्रभावशाली जित निकालेको थियो ।
एकदिवसीय सिरिजअघि भएको तीन म्याचको टी–ट्वान्टी सिरिज भने एक एकको बराबरीमा सकिएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?