
काठमाडौं । न्युरोड टिम एनआरटी सहिद स्मारक ए डिभिजन लिग फुटबलकौ छैटौ स्थानमा उक्लिएको छ । नवौ चरणको खेलमा ललितपुरे क्लब जाबलाखेल युथलाई २–० ले हराउँदै एनआरटीले तालिकामा सुधार गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीलाई जिताउन दुबै गोल कप्तान दर्शन गुरुङले गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एनआरटीले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ६८ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि उनैले अर्को गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछिको समयमा दुबै टोलीले थप गोल गर्न नसकेपछि सोही नतिजा निर्णायक बन्यो । जितसँगै ९ खेलबाट १३ अंक जोड्दै एनआरटी तालिकाको छैटौ स्थानमा उक्लिएको छ । समान खेलबाट जावलाखेल ८ अंकमा दशौँ स्थानमा छ।