Logo

च्यासलविरुद्द थ्रीस्टारको शानदार जित

ई-खेलकुद २०७८ मंसीर ४ , शनिबार ०६:११ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबले च्यासल युथ क्लबलाई हराएको छ । दशरथ रंगशालामा आज भएको खेलमा च्यासललाई ३–० ले हराउदै थ्रीस्टारले लिगमा विजयी सुरुवात गरेको हो । जारी लिगमा थ्रीस्टार जित निकाल्ने पहिलो टोली समेत बनेको छ ।

थ्री स्टारलाई शानदार जित दिलाउन निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले गोल गरे । पहिलो हाफमै २–० को अग्रता बनाएको थ्रीस्टारले दोस्रो हाफमा एक गोल थपेको थियो ।

२२ औं निशानले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा च्यासलले पेनाल्टीमा गोल गर्न सकेन । नेपाली मुलका इटालियन फरवार्ड विकास मेराग्लिया पेनाल्टीमा गोल गर्न असफल बन्दा च्यासलले बराबरी गर्ने मौका गुमाएको थियो ।

४४ औं मिनेटमा रिमले हेड मार्फत गोल गर्दै थ्रीस्टारको अग्रता दोब्बर पारे । खेलको ५८ औं मिनेटमा फ्रिकिकबाट आएको बललाई अनन्तले जाली चुमाएका थिए ।

जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । खेलमा थ्रीस्टारका निशान खड्का म्यान अफ दि म्याच चुनिए । लिगमा भोली २ खेल हुनेछन् । भोलीको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबको सामना गर्नेछ । अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लब आमने सामने हुनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?