Logo

च्यासलमाथी मनाङको शानदार जित,ओलावालेको ह्याट्रिक

ई-खेलकुद २०७८ पुस २४ , शनिबार ०४:०१ मा प्रकाशित

पोखरा । सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि होडमा रहेको मनाङ मर्स्याङ्दी क्लबले आठौ चरणमा शानदार जित निकालेको छ । पोखरा रंगशालामा आज भएको खेलमा च्यासल युथ क्लबलाई ५–० ले हराउँदै मनाङले उपाधि होड कायमै राखेको हो । मनाङलाई फराकिलो जित दिलाउन आफिज ओलावालाले ह्याट्रिक गरे । खेलको पहिलो हाफमा २–० को अग्रता बनाएको मनाङले दोस्रो हाफमा ३ गोल गर्दै सहज जित निकालेको हो । एडिलाजा सोमिडे र दिनेश राजवंशीको नाममा एक एक गोल रह्यो ।
खेलको तेस्रो मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । पहिलो हाफको नियमित समय सकिँन २ मिनेट अघि ओलावालेले गोल गर्दै पहिलो हाफमै टोलीलाई २–० को अवस्थामा पुर्याए । एकपक्षिय खेलको दोस्रो हाफमा पनि मनाङले आफ्नो आक्रमण जारी राखेको थियो । तर उसलाई थप गोल गर्न भने खेलको अन्तिम समय कुर्न परेको थियो । अन्तिम पाँच मिनेट च्यासलले लय गुमाउँदा ठुलो अन्तरको हार भोगेको हो । खेलको ८६ औं मिनेटमा दिनेशले गोल गर्दै मनाङलाई ३–० को अग्रता दिलाए । खेलको इन्जुरी समयमा ओलावालेले लगातार २ गोल गर्दै ह्याट्रिक पुरा गर्दा मनाङ फराकिलो जित निकाल्न सफल बन्यो । ८ खेलबाट १९ अंक जोडेको मनाङ तालिकाको दोस्रो स्थानमा कायम छ । समान खेलबाट च्यासल ५ अंकमा पुछारबाट दोस्रो स्थानमा छ । खेलमा मनाङका ह्याट्रिककर्ता ओलावाले म्यान अफ दि म्याच चुनिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?