
एजेन्सी । युरोपको चर्चित च्याम्पियन्स लिग फुटबलमा आज सुरु हुदैछ । युरोपेली फुटबलमा बिशेष अर्थ राख्ने प्रतियोगिताको पहिलो दिन आज बिभिन्न ८ खेल हुदैछन् ।
सिजनको पहिलो दिन डिफेण्डिङ च्याम्पियन लिभरपुलले नापोलीसंग प्रतिस्पर्धा गर्नेछ । प्रिमियर लिगमा पाँचौ खेलसम्म अपराजित रहेको लिभरपुल, च्याम्पियन्स लिगमा पनि सोहि लय कायम राख्ने योजनामा रहेको छ । नापोलीको घरेलु मैदानमा हुने खेलमा ईङलिस क्लब केहि दबावमा भने अवश्य हुनेछ ।
स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डसंग प्रतिस्पर्धा गर्नेछ । कोपा अमेरिका कपमा घाईते भएका कप्तान लियोनल मेसी लामो बिश्रामपछि मैदान उत्रने खेलमा बार्सा सकारात्मक नतिजाको अपेक्षामा हुनेछ । यद्यपी मेसी बिनाको ४ खेलमा २ खेलमा मात्र जित हात पारेको टोलीलाई बोरुसियाबिरुद्ध आफु अनुकुलको नतिजा निकाल्न सहज भने पक्कै हुने छैन् ।
आजै राती ईङलिस क्लब चेल्सीले स्पेनिस क्लब भ्यालेन्सियाको सामना गर्नेछ । घरेलु मैदानमा भ्यालेन्सीयालाई स्वागतसंगै चेल्सीको लक्ष्य भने ३ अंक जोड्नु नै हुनेछ । अन्य खेलहरुमा ईन्टर मिलानले स्लाभिया प्राग, लियोनले जेन्ट सेन्ट पिटरवर्ग तथा आरबी सालज्वर्गले केआरसी जिन्कसंग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगीस क्लब बेन्फिकाले जर्मन क्लब लिपजिगको सामना गर्दा आयाक्सको भेट लिलीसंग हुनेछ ।
