
एजेन्सी । च्याम्पियन्स लिग फुटबलका पछिल्ला खेलमा म्यानचेष्टर सिटि, पेरिस सेन्ट जर्मेन पिएसजी र वार्यन म्युनिख विजयी भएका छन् । समुह सी अन्तर्गतको खेलमा सिटिले साख्तार डोनेत्स्कलाई ३–० ले स्तब्ध पार्यो । पहिलो हाफमा २–० ले अघि रहेको सिटिले दोस्रो हाफमा १ गोल थप्दै सहज जित हात पारेको हो ।
रियाद महारेज, ईल्के गुण्डोगान र ग्राबियल जिससले गोल गर्दै टोलीलाई जित दिलाए । सोहि समुहको खेलमा डाईनामो जाग्रेभले एटलान्टालाई ४–० ले हरायो ।
समुह ए अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन पिएसजीले रियल मड्रिडलाई ३–० ले हरायो । एञ्जल डि मारिया चम्किएको खेलमा पिएसजीले अधिकांश समय रियल मड्रिडलाई दबावमा राखेको थियो । १४ र ३३ औ मिनेटमा मारियाले गोल गरे । अर्को गोल ईन्ज्युरी समयमा थोमस म्युनिरले एक गोल गरे । सोहि समुहको खेलमा क्लब ब्रुज र गालातासारेले गोलरहित बराबरी खेलेका छन् ।
समुह बी अन्र्तगत वार्यन म्युनिखले रेडस्टार बेल्ग्रेडबिरुद्ध ३–० को जित निकाल्दा टटनह्याम भने ओलम्पियाकोससंग २–२ को बराबरीमा रोकिएको छ । ७३ प्रतिशत बल पोजिशनको खेलमा पहिलो हाफमा १–० को अग्रता बनाएको वार्यनले दोस्रो हाफमा २ गोल गर्दै सहज जित हात पारेको थियो ।
समुह डीको खेलमा लोकोमोटिभ मस्कोले वायर लिभरकुसेनलाई २–१ ले हराउदा, युभेन्टस एटलेटिको मड्रिडसंग २–२ को बराबरीमा रोकिएको छ ।
