Logo

चौथो दिनको खेल जारी रहदा नेपाललाई थप ४ स्वर्ण, तालिकामा भारतको अग्रता

ई-खेलकुद २०७६ मंसीर १८ , बुधबार ०३:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको चौथो दिन नेपालले थप ४ स्वर्ण पदक हात पारेको छ । आज नेपालले साईकिलिङमा २ तथा उसु र तेक्वान्दोमा एक एक स्वर्ण पदक हात पारेको हो । योसंगै नेपालले पदक तालिकामा स्वर्णको संख्या २७ पुर्याएको छ । १३ रजत र २१ कस्यसहित नेपाल तालिकाको दोस्रो स्थानमा झरेको छ । २७ स्वर्ण १९ रजत र ११ कास्य गरी ५७ पदक हात पारेको भारत शीर्ष स्थानमा पुगेको छ ।
गोकर्णमा भएको साइक्लिङतर्फको डाउनहिलमा पुरुषतर्फ राजेश मगरले स्वर्ण पदक हात पारेका हुन् । सोहि इभेन्टको महिलातर्फ निष्मा श्रेष्ठले स्वर्ण जितिन् । मगरले १ मिनेट ४९ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण पदक जिते । रजत पदक जितेका नेपालकै निरव श्रेष्ठले १ मिनेट ५० सेकेन्डमा दूरी पुरा गरे । महिलातर्फ नेपालकै जमुना थापाले रजत पदक हात पारिन् ।
लगनखेलमा भएको उसुको थाउलो नानगुनमा दिपक हमालले नेपाललाई स्वर्ण दिलाए । लगनखेलस्थित आर्मी कभर्डहलमा १९.३२ अंक ल्याएर उनले भारतका साजन लामालाई पछि पारे । सो स्पर्धामा बंगलादेशका अमीर हुसेनले कास्य जिते ।
करातेमा नेपालकी अनुपमा मगरले स्वर्ण जितेकी छिन् । महिला ६८ केजी माथिको कुमुतेमा अनुपमाले पाकिस्तानी नार्गिसलाई ६–३ ले हराईन् ।
करातेको पुरुष ५० केजीमा नेपालका सोनाम लामाले कास्य जिते । यस स्पर्धामा बंगलादेशले पनि कास्य जित्यो । पाकिस्तानले स्वर्ण र श्रीलंकाले रजत हात पारे । महिला टिम मुकुतेमा नेपालले कास्य जितेको छ । नेपाली टिममा सानी तामाङ, एस्टर राई, रिता कार्की र सुस्मिता तामाङ रहेकी थिइन् ।
खोखोको स्पर्धामा नेपालले रजत पदकमा चित्त बुझायो । कीर्तिपुरस्थित कभर्डहलमा भएको फाइनलमा नेपाल भारतसँग १७–५ को फराकिलो अन्तरले पराजित भएको नेपाल ऐतिहासिक स्वर्ण पदक हात पार्न चुकेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?