
झापा । चर्च ब्वाइज युनाइटेड झापामा जारी अन्नपुर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा रुपन्देहिको गोर्खा ब्वाइजलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले हराउदै चर्च ब्वाईजले अन्तिम चारको यात्रा तय गरेको हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा निर्धारित समयको खेल एक एकको बरँबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट गरिएको हो । टाईब्रेकरमा चर्च ब्वाइजका उमेश राई, राजेन्द्र रावल, कैलाश बस्नेत र पाल्साङ लामाले गोल गरेका थिए । गोर्खा ब्वाइजका रुपेश केसी, दिपक राईको प्रहार मात्र गोलमा परिणत भएको थियो । बुद्ध चेम्जोङ र मनोज श्रेष्ठको प्रहार चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले बचाएका थिए । खेलमा चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६१ औ मिनेटमा सन्तोष न्यौपानेले चर्च ब्वाईजलाई अग्रता दिलाएका थिए । त्यसको २ मिनेट नबित्दै रुमेश बाँस्तोलाले रुपन्देहिलाई बराबरीमा पुर्याएका थिए । चर्च ब्वाईजले फाइनल प्रबेशका लागि विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा भोली आक्रामक एफसी सिक्किम र विभागीय त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार प्राप्त गर्नेछन् ।
