
काठमाण्डौ । तेस्रो संस्करणको चन्द्रागिरी गोल्डकप फुटबलको उपाधिका लागि विभागीय टोलीहरु नेपाल पुलिस र नेपाल एपिएफ भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाइनलमा थ्रीस्टार क्लबलाई सडेन डेथमा हराउदै एपीएफले पुलिससंगको उपाधि भेट पक्का गरेको हो ।
चन्द्रागिरीस्थित नैकाप मैदानमा निर्धारित समय र टाईब्रेकर पनि बराबरीमा सकिएपछि सडेन डेथबाट खेलको निर्णय लिईएको हो । थ्रीस्टारका करण राउतको प्रहार असफल बन्दा एपीएफका अमृत चौधरीले बललाई जाली चुमाउदै टोलीको उपाधि यात्रा तय गरेका थिए ।
पुलिस र एपीएफबिचको उपाधि भिडन्त शुक्रबार हुनेछ । यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा ब्रिगेड ब्वाईज क्लबलाई १–० ले हराउदै पुलिसले फाईनलमा स्थान सुरक्षित गरेको थियो ।
गोल्डकपको उपाधि विजेताले ६ लाख ५० हजार र उपविजेता टोलीले ३ लाख ५० हजार रुपैया हात पार्नेछन् ।
