
एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा शानदार जित हात पारेको छ । गएराती रियल बेटिसलाई ५–२ गोल अन्तरले हराउदै बार्साले दोस्रो खेलमा जितको खाता खोलेको हो । घरेलु मैदानमा मुख्य खेलाडी लियोनल मेसी, लुईस स्वारेज र ओस्माने डेम्बेलेविनै मैदान उत्रिएको बार्सालाई जिताउन एन्टोनियो ग्रीजम्यान नायक बने । उनले टोलीका लागि सुरुवाती २ गोल गरे ।
४१ औ मिनेटमा पहिलो गोल गरेका ग्रीजम्यानले ५० औ मिनेटमा अर्को गोल थपेका थिए । थप गोल कार्लेस परेज, जोर्डी अल्बा र अर्तुरो भिडालले गरे । घरेलु मैदानमा ७० प्रतिशत बल पोजिशनको खेलमा बार्साले अधिकांस समय बेटिस माथी दबाव बनाएको थियो । ग्रीजम्यानले बार्साको जर्सीमा पहिलो गोल गरेका हुन् । उनी जुलाईमा एट्लेटिको मड्रिडबाट १ सय ७ मिलियन पाउण्डमा बार्सा आएका थिए ।
गएरातीका अन्य खेलहरुमा लेगानेशले एट्लेटिको मड्रिडलाई तथा रियल सोसियाडले माल्लोरका लाई समान १–० ले स्तब्ध पारे । स्पानियोल र डिर्पोटिभो अलाभेषले भने गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
