Logo

कतारले विश्वकपको तयारी थालेयता ५ सय २२ नेपाली कामदारको मृत्यु

ई-खेलकुद २०७९ वैशाख १ , बिहीबार १२:०४ मा प्रकाशित

काठमाडौं । कतारले विश्वकपको आयोजनाको जिम्मेबारी पाएसँगै कतारमा रहेका कामदारहरुको अवस्थाले विश्वको ध्यान तानेको थियो । विकासको उच्च चरणमा रहेको कतारमा लाखौ आप्रवासी कामदार बिभिन्न निर्माण कम्पनीमा कार्यरत थिए । विश्वकप आयोजनाको जिम्मेबारी पाएसँगै कतारले त्यसमा थप प्रयत्न गर्न आवश्यक थियो । बिभिन्न पक्षले गरेका अध्ययनहरुमा त्यहाँको मानवअधिकार र आप्रवासी कामदारको अवस्थालाई बिशेष महत्व दिईएको थियो ।
२० लाख आप्रवासी कामदार रहेको कतारले विश्वकपको आयोजनाको जिम्मेबारी पाएयता मात्र ७ हजार कामदारको मृत्यु भएको द गार्डियनले उल्लेख गरेको छ । जसमध्ये सबैभन्दा बढि भारतीय कामदार रहेका छन् । ७ सय भारतीय र ५ सय २२ नेपाली कामदारले कामका सिलसिलामा ज्यान गुमाएका हुन् । त्यसअघि बर्षेनी २ सय ५० भारतीय र करिब १ सय ३० नेपाली कामदारले बर्षेनी ज्यान गुमाउने गरेका थिए । आप्रवासी कामदारहरु खाना र पानीबाट पनि बञ्चित भएको तथ्य उसले सार्वजनिक गरेको छ । तिब्र तयारी गर्नुपर्ने भएकाले धेरै कामदारमाथी श्रमशोषण भएको, उनीहरुको परिचयपत्र खोसिएको तथा उनीहरुको तलब समयमै भुक्तानी नगरिएको जस्ता तथ्य द गार्डियनले सार्वजनिक गरेको थियो ।
त्यस्तै बीबीसीले सार्वजनिक गरेको अर्को रिर्पोटले कतारमा २०११ देखी १३ को बिचमा १२ सय कामदारको कार्यस्थलमै मृत्यु भएको थियो । त्यसमा अधिकांश हिस्सा भारत र नेपालका कामदार रहेका छन् । विश्व फुटबलको सर्बोच्च निकाय फिफाको कार्यकारी समितिसमक्ष कामदारको अवस्थाबारे बिभिन्न प्रतिवेदनहरु दिइएको थियो । सोहि प्रतिवेदनलाई आधार मान्दै फिफाले कतारमाथि दबाव बढाएपनि कामदारको अवस्थामा भने सुधार नदेखिएको स्वतन्त्र प्रतिवेदनहरुमा उल्लेख छ ।
मे २०१९ मा, बेलायतको डेली मिरर अखबारले गरेको अनुसन्धानका क्रममा स्टेडियम निर्माणमा खटिएका २८ हजार कामदारले मासिक ७ सय ५० रियल तलब पाएका थिए । यो अन्तराष्ट्रिय श्रम संगठनले तोकेको भन्दा निक्कै न्युन तलब हो । यसले कतार सरकारले मानव अधिकार उल्लघन गरेको भन्दै चर्को आलोचना पनि भएको थियो । कतारका बिभिन्न ८ रंगशाला निर्माणमा सबैभन्दा बढि भारतीय र त्यसपछि नेपाली कामदार खटिएका थिए । त्यसबाहेक बंगलादेश, फिलिपिन्स, ईण्डोनेसिया श्रीलंका, पाकिस्तान र अफ्रिकी मुलुकका नागरिक पनि कतारमा आप्रवासी कामदारका रुपमा रहेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?