Logo

एसियाकप क्रिकेटमा युएईबिरुद्ध नेपालको शानदार जित

ई-खेलकुद २०७६ भदौ २४ , मंगलबार ०४:०९ मा प्रकाशित

काठमाण्डौ । नेपालले श्रीलंकामा जारी अण्डर १९ एसियाकप क्रिकेटमा सुखद अन्त्य गरेको छ । समुहचरणको अन्तिम खेलमा नेपाली युवा टोलीले युएईलाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गर्यो । नेपालले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको युएई ३४ दशमलब ४ ओभरमा १ सय २५ रनमा समेटिएपछि नेपालले शानदार जित हात पारेको हो । यो जितसंगै नेपालले २ अंक जोड्दै प्रतियोगिताको अन्त्य गरेको छ । युएई भने तीनै खेलमा पराजित हुदै घर फर्किएको छ ।
भिरित्या अरबिन्द रुद्राभलले सर्बाधिक २८ रन बनाएको युएईको ईनिङसमा एलस्हान सराफुले २१ र ओसामा हसनले १६ रन बनाए । अन्यले उल्लेख्य ब्याटिङ गर्न सकेनन् ।
उसलाई कम स्कोरमा रोक्न सागर ढकालले ३ तथा रासिद खान, पवन सर्राफ र सुर्य तामाङले समान २ विकेट लिए । कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो ।
यसअघि एफटिजेड स्पोर्ट क्लबको क्रिकेट मैदानमा टस जितेको युएईले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धा्रित ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।
कमजोर सुरुवात गरेको नेपालको ईनिङस मध्यक्रमका ब्याट्सम्यानले उकासेका थिए । रित गौतम गोल्डेन डक आउट भएको ईनिङसमा पवन सर्राफ खाता नै नखोली पभेलियन फर्किए ।
कप्तान रोहित कुमार पौडेल र आसिफ शेखले तेस्रो विकेटका लागि ८७ बलमा ७१ रनको साझेदारी गर्दै टोलीको उद्धार गरेका थिए । शेख ४५ रनमा पभेलियन फर्किए । रोहितले ६७ रनको योगदान गरे । उनले चौथो विकेटका लागि सन्दिप जोरासंग मिलेर अर्को उत्कृष्ट साझेदारी गरेका थिए । जोरा २ रनले अर्धशतक बनाउन चुके । आठौ विकेटका लागि रासिद खान र कमलसिंह ऐरीले ८ दशमलब १ ओभरमा ७० रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक अवस्थामा पुर्याए ।
कमलसिंह ऐरीले ४१, रासिद खानले ४४ र कुशल मल्लले २२ रन बनाए । भीम सार्की १ रनमा एलबीडब्लु धरापमा परे ।
युएईका महम्मद आकासा ताहिर र संचित शर्माले समान ३ तथा कार्तिक पाल्लानियापनले २ विकेट लिए । नेपाल सुरुवाती २ खेलमा क्रमश श्रीलंका र बंगलादेशसंग पराजित भएको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?