
काठमाण्डौ । श्रीलंकामा जारी अण्डर १९ एसियाकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोस्थित पी सारा ओभलमा नेपाली समयानुसार भोली बिहान सवा १० बजे नेपाल र बंगलादेशबिचको प्रतिस्पर्धा सुरु हुनेछ । पहिलो खेलमा युएईलाई सहज रुपमा पराजित गरेको बंगलादेश अर्को एसोसिएट राष्ट्र नेपालबिरुद्ध पनि त्यस्तै जितको अपेक्षामा रहेको छ ।
आयोजक श्रीलंकासंग पहिलो खेलमा हार भोगेको नेपाललाई सेमिफाइनल प्रबेशको संभावना कायम राख्न बंगलादेशबिरुद्ध जित्नै पर्ने दबाव रहेको छ ।
नेपाल र बंगलादेशबिच उमेर समुहमा भएको पछिल्ला ५ भेटमा ४ खेलमा बंगलादेश बिजयी भएको छ । एक खेल भने बर्षाले अबरुद्ध भएको छ । नेपाल र बंगलादेशबिच पछिल्लो पटक २०१७ को युथ एसियाकपमा भेट भएको थियो । जसमा १ बल अगावै लक्ष्यमा पुगेर बंगलादेशले जित हात पारेको थियो ।
नेपालबिरुद्ध बंगलादेशले ३ सय ४ रनको उच्च योगफल समेत बनाएको छ । सन् २००८ मा भएको भेटमा बंगलादेशले नेपाललाई ३ सय ५ रनको लक्ष्य दिएको थियो । नेपालले भने ८ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सकेको थियो । सोहि बर्ष ३९ ओभरमा छोट्याईएको खेलमा बंगलादेशले नेपाललाई १ सय ९ रनमा समेटेको थियो । १५ बल अगावै ७ विकेट गुमाएर लक्ष्य भेट्दै बंगलादेशले जित हात पारेको थियो ।
सन् २०१६ मा भएको एसिाय कपको प्रतिस्पर्धामा नेपालले दिएको २ सय १२ रनको चुनौती बंगलादेशले १० बल अगावै ४ विकेट गुमाएर पुरा गरेको थियो ।
समग्र अवस्था हेर्दा बंगलादेशले नेपालबिरुद्ध मध्यम प्रर्दशन हात पार्दै आएको छ । यसैको मनोबलमा उसले नेपालबिरुद्धको खेलमा आफुलाई हाबी गराउने योजना बनाएको छ । नेपाल भने सेमिफाइनल पुग्ने लक्ष्य र यसअघिका नतिजाले केहि दबावमा रहेको छ ।
