
काठमाण्डौ । नेपालले घरेलु मैदानमा आयोजना गरेको एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता पाँचौ स्थानमा रहेर अन्त्य गरेको छ । आज भएको पाँचौ स्थानको प्रतिस्पर्धामा अफगानिस्तानलाई ३–१ को सेटले हराउदै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको हो । जारी प्रतियोगितामा नेपालको यो नै पहिलो जित हो । यसअघि नेपाल समुहचरणमा माल्दिभ्स र किर्गीस्तानसंग पराजित भएको थियो ।
ललितपुरको लगनखेलस्थित आर्मीको कभर्ड हलमा पहिलो सेटमा २५–२३ को जित निकालेको नेपालले दोस्रो सेट २३–२५ ले अफगानिस्तानलाई सुम्पिएको थियो । तेस्रो सेटमा २५–१८ को सहज जित निकालेको नेपालले चौथो सेटमा २६–२४ को जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको हो । यसअघि अफगानिस्तानबिरुद्ध भएको दुई मैत्रीपुर्ण खेलमा पनि नेपाल विजयी भएको थियो ।
