
काठमाण्डौ । तुर्केमिनिस्तानले पाँचौ संस्करणको एभीसी एसियन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । ललितपुरको लगनखेलस्थित नेपाल आर्मीको कभर्डहलमा प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानलाई ३–१ को सेटले हराउदै तुर्केमिनिस्तानले प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको हो । पहिलो सेटमा ३२–३० को जित निकालेको तुर्कमिनिस्तानले दोस्रो सेट १६–२५ ले अफगानिस्तानलाई सुम्पिएको थियो । त्यसपछिका सेटमा २७–२५ र २६–२४ को जित निकाल्दै तुर्केमिनिस्तानले सेमिफाइनल प्रबेशको संभावना बलियो बनाएको हो ।
आयोजक नेपाल सहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालले आजै किर्गिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेल पनि सोहि कोर्टमा अपरान्ह ४ बजे सुरु हुनेछ । बलियो टोली किर्गिस्तानलाई हराउन सके, एक खेल अगाबै नेपाल फाइनल पुग्नेछ । तर नेपालका लागि त्यो सहज भने पक्कै छैन् । किर्गिस्तानसंग यसअघि भएका चारै भेटमा पराजित भएको तथ्यङकले पनि नेपाललाई केहि कठिन हुने देखिएको छ । यद्यपी घरेलु मैदानमा आयोजना भएको प्रतियोगितामा नेपाल नतिजा उल्टाउन चाहान्छ ।
आजै हुने तेस्रो खेलमा साँझ ६ बजे बंगलादेश र उज्वेकिस्तान आमने सामने हुनेछन् । समुह एमा ३ र समुह बीमा ४ टोली रहेकाले एक जितले मात्र समुह एका टोलीलाई सेमिफाइनलमा पुर्याउनेछ । नेपालले समुहचरणको आफ्नो अन्तिम खेलमा बुधबार माल्दिभ्सको सामना गर्नेछ ।
