
काठमाण्डौ । भारतमा सन् २०२३ मा हुने एकदिवसीय विश्वकपको छनोट अन्तर्गत लिग–२ को आफ्नो पहिलो सिरिजको रुपमा नेपालले ओमान र अमेरिकासंग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । आगामी माघ २२ देखी २९ सम्म किर्तिपुरमा हुने सिरिजबाट नेपालले विश्वकप छनोटको यात्रा सुरुवात गर्दा अवसरसंगै नेपालमाथी निक्कै दबाव रहेको छ । एसोसिएट वरियतामा शीर्ष स्थानमा रहेपनि अमेरिका र ओमानको बढ्दो स्तर र ठिक विपरित अवस्थामा रहेको नेपालको लयका कारण लिग २ नेपालका लागि कठिन प्रतियोगिता बन्ने संभावना पनि छ । न्युन मात्रामा एकदिवसीय खेल खेलिरहेको नेपाललाई छनोट यात्रा त्यत्ति सहज छैन् । नामिबिया, पीएनजी, स्कटल्याण्ड जस्ता बलियो बन्दै गएका टोलीसंग प्रतिस्पर्धाका लागि राम्रो तयारी र खेलाडीको उचित छनोटमा ध्यान दिन निक्कै जरुरी छ ।
घरेलु प्रतियोगिताहरु पनि टि–२० फर्मेटमै केन्द्रित भईरहेको तथा तत्काल अन्तराष्ट्रिय सिरिजको संभावना पनि नरहेकाले नेपालको तयारी निक्कै कमजोर रहने स्पष्ट छ । अझ ठुला नामका खेलाडीको खस्कदो फर्मले पनि केहि चिन्ता थपेको छ । लिग २ प्रतियोगिताको शीर्ष ३ टोलीमा पर्न सके नेपालले विश्वकप छनोटको प्लेअफ खेल्न पाउनेछ । १० टोलीले खेल्ने प्लेअफबाट २ टोलीले विश्वकपको टिकट काट्ने छन् ।
शीर्ष ३ मा पर्न नसके नेपालले प्लेअफको घुमाउरो बाटो समाउनुपर्नेछ ।
के हो लिग २ प्रतियोगिता ?
वरियताको १४ देखी २० सम्म रहेका ७ टोलीले यो लिग खेल्नेछन् । यो प्रतियोगितामा ७ मुलुकबिच ९ वटा सिरिज हुनेछ । एउटा सिरिजमा एक राष्ट्रले ४ खेल खेल्नेछन् । २ बर्षसम्म चल्ने सिरिजमा एक टोलीले ३६ खेल खेल्नुपर्ने हुन्छ । नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिकाले लिग २ मा प्रतिस्पर्धा गर्नेछन् ।
लिग–२ होम एन्ड अवेका आधारमा हुनेछ । प्रत्येक टिमले २ वर्षको बीचमा ३६ खेल्नेछन् । लिग–२ का उत्कृष्ट ३ टिम आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा छनोट हुनेछन । पुछारका ४ टिम आइसिसी क्रिकेट विश्वकप छनोटको प्लेअफ प्रतियोगितामा जानेछन् ।
विश्वकप च्यालेन्ज लिगबाट २ टोलीले प्ले अफ खेल्ने-
लिग २ संगै आइसिसीले क्रिकेट विश्वकप च्यालेन्ज लिग पनि समानान्तर रुपमा सञ्चालन गर्नेछ । २ समूहमा हुने प्रतियोगितामा बर्मुडा, क्यानडा, डेनमार्क, हङकङ, इटाली, जर्सी, केन्या, मलेसिया, कतार, सिंगापुर, युगान्डा र भानुआटुले प्रतिस्पर्धा गरिरहेका छन् । यो लिगबाट २ टोलीले विश्वकप छनोटको प्लेअफमा स्थान बनाउनेछन् । २०२२ मा हुने प्लेअफमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । प्लेअफबाट २ टिम विश्वकप छनोट प्रतियोगितामा पुग्नेछन् ।
विश्वकप छनोट प्लेअफ –
यो छनोटमा लिग २ का पुछारमा रहने ४ र च्यालेन्ज लिगबाट आउने २ गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसबाट २ टोलीले अन्तिम चरणको छनोटमा स्थान सुरक्षित गर्नेछन् ।
सुपर लिग कसरी हुन्छ ?
आइसिसी क्रिकेट विश्वकप सुपर लिगमा १३ टिमबिच प्रतिस्पर्धा हुनेछ । अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका, पाकिस्तान, वेस्ट इन्डिज जिम्बावेबीच प्रतिस्पर्धा हुनेछ । उत्कृष्ट ८ टिम सिधैं विश्वकपमा पुग्नेछन ।
अन्तिम छनोटमा कसले खेल्छन ?
सुपर लिगबाट पुछारका ५ टिमले अन्तिम चरणको छनोट खेल्नेछन् । यी बाहेक लिग २ बाट सिधै छनोटमा पर्ने ३ टोली तथा प्लेअफबाट आउने २ गरी १० टोलीबिच अन्तिम चरणको छनोट प्रतिस्पर्धा हुनेछ । यो प्रतियोगिताबाट २ टोलीले एक दिवसीय विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।
