
काठमाण्डौ । जोर्डनमा आजबाट सुरु हुने एएफसी अण्डर १६ च्याम्पियनसीप छनोट फुटबलको उद्घाटन खेलमा नेपालले आज बलियो टोली जोर्डनसंग प्रतिस्पर्धा गर्दैछ । जार्का सिटिस्थित प्रिन्स महम्मद अन्तराष्ट्रिय स्टेडियममा नेपाली समयानुसार राती पौने ८ बजे खेल सुरु हुनेछ ।
आयोजकबिरुद्ध नेपाली टोली कम्तीमा बराबरीको नतिजा निकाल्ने योजनामा रहेको छ । नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले बलियो टोली जोर्डनलाई बराबरीमा रोक्ने लक्ष्यमा टोली मैदान उत्रने बताउनुभयो ।
भारतमा केहि दिन अघि सम्पन्न साफ अण्डर १५ च्याम्पियनसिप खेलेका अधिकांश खेलाडीलाई राखेर श्रेष्ठले टोली तयार पारेका छन् । नेपाली टोली जान लिम्बुको कमानीमा मैदान उत्रनेछ ।
छनोटको समुह एमा रहेको नेपालले जोर्डन पछि कुवेत, ताजाकिस्तान र श्रीलंकासंग प्रतिस्पर्धा गर्नेछ । कुवेतसंगको खेल सोमबार हुनेछ । असोज ३ गते ताजाकिस्तान र असोज ५ गते श्रीलंकासंग प्रतिस्पर्धा गर्नेछ ।
समुहको शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ ।
