
काठमाण्डौ । ईरानमा जारी एएफसी अण्डर १९ च्याम्पियनसीप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज आयोजक ईरानसंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा युएईसंग ४–० को हार भोगेको नेपालले अर्को बलियो टोली ईरानसंग प्रतिस्पर्धा गर्न लागेको हो । तेहरानस्थित पास स्टेडियममा नेपाली समयानुसार राती ८ बजे मैदान उत्रदा नेपाल पहिलो अंकको खोजीमा हुनेछ । यद्यपी नेपाल घरेलु टोलीबिरुद्ध निक्कै दबावमा हुनेछ । पहिलो खेल गुमाएको नेपाललाई अघिल्लो चरण प्रबेशको संभावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब रहेको छ । तर प्रतियोगीताकै शसक्त टोलीका रुपमा रहेको ईरानलाई उसैको मैदानमा हराउन त्यत्ति सहज भने छैन । पहिलो खेलमा किर्गीस्तानलाई हराएको आयोजक लगातार दोस्रो जित निकाल्दै अघिल्लो चरण नजिक पुग्ने योजनामा रहेको छ । आजै युएई र किर्गीस्तानबिच पनि प्रतिस्पर्धा हुनेछ ।
