
काठमाण्डौ । एसियाली क्रिकेट काउन्सील एसीसीको आयोजनामा हुने एसीसी ईमर्जिङ टिम्स कप क्रिकेट र ईमिरेट्स क्रिकेट बोर्ड ईसीबीले गर्ने टी–१० क्रिकेट लिगको मिति जुधेपछि दुबै प्रतियोगिता खेल्ने खेलाडी अन्यौलमा परेका छन् । टी–१ क्रिकेट लिग नोभेम्बर १५ देखी २४ र ईमर्जिङ टिम्स कप क्रिकेट नोभेम्बर १४ देखी २३ सम्म चल्नेछ । दुबै प्रतियोगितामा सहभागीता जनाउनुपर्ने खेलाडीहरुलाई मिति जुधेसंगै समस्या परेको छ ।
झन प्रतियोगितामा पहिलो पटक खेल्न लागेका नेपाली टोलीका पुर्बकप्तान पारस खड्कालाई समस्या थपिएको छ । पहिलो अन्तराष्ट्रिय फ्रेन्चाईज लिग खेल्न लागेका पारसलाई एकै मितिमा दुई प्रतियोगिता आयोजना हुदा अप्ठेरोमा पारेको हो । पारससंगै टी–१० क्रिकेट खेल्ने नेपाली लेगस्पिनर सन्दिप लामिछानेलाई पनि उहि समस्या परेको छ ।
राष्ट्रिय टोलीको खेलको तालिकामा मुलुककै लागि खेल्नुपर्ने मान्यता रहि आएपनि परिस्थितीले नै केहि अप्ठेरो बनाएको क्रिकेट पण्डितहरुको तर्क छ । टोलीको कप्तानी समेत छाडिसकेपछि केहि समय आराम लिएर पारसले दुबई भ्रमण गर्ने संभावना पनि उत्तिकै रहेको छ । तर बर्षभरै ब्यस्त रहने सन्दिपको हकमा भने त्यो लागु नहुने उनीहरुको तर्क छ ।
बलिया टोली भारत र बंगलादेशसंग खेल्नुपर्ने भएकाले टोलीलाई महत्वपुर्ण खेलाडीको आवश्यक्ता पनि उत्तिकै रहन्छ ।
केहि थरीले भने दुबै खेलाडीलाई बिश्राम दिएर अन्य खेलाडीबाट टोली छनोट गरी बंगलादेश पठाउनुपर्ने सुझाव दिएका छन् । जे भएपनि नेपाली खेलाडीले अन्तराष्ट्रिय फ्रेन्चाईज लिगमा पाउदै गरेको अवसरलाई पनि कायम राख्दै मुलुकको सहभागीतालाई पनि शसक्त बनाउन खेलाडी, ब्यबस्थापक र नियामक निकायले पनि केहि सोच्न आवश्यक भैसकेको छ ।
