Logo

ईमर्जिङ टिम्स कप क्रिकेटमा हङकङबिरुद्ध नेपालको सहज जित

ई-खेलकुद २०७६ कात्तिक ३० , शनिबार ०४:११ मा प्रकाशित

काठमाण्डौ । बंगलादेशमा जारी एसीसी ईमर्जिङ टिम्स कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ । बंगलादेशको ढाकामा आज भएको खेलमा नेपालले हङकङलाई ४० रनले पराजित गरेको हो । यो जितसंगै नेपालले सेमिफाइनल प्रबेशको संभावना कायमै राखेको छ । नेपालले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याएको हङकङ ४५ दशमलव ५ ओभरमा १ सय ७७ रनमा समेटिएपछि नेपालले सहज जित हात पारेको हो । किन्चीत शाहले ५३, हारोन अर्सदले २६ र ईहान नवाजले अबिजित ४४ रन बनाए । नसरुल्लाह राना, अस्हान अली र साहिद वासिफले समान १० रन जोडे । हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । करण केसी र अबिनास बोहोराले समान ३ तथा सुसन भारीले २ विकेट लिएपछि हङकङको ईनिङस ध्वस्त भएको थियो । उसका अन्य २ ब्याट्सम्यान रनआउट भएका थिए ।
यसअघि ढाकास्थित साभर क्रिकेट मैदानमा टस जितेको हङकङले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाउदै २ सय १७ रनको योगफल तयार पारेको थियो । निक्कै कमजोर सुरुवात गरेको नेपालको ईनिङस मध्यक्रमका ब्याट्सम्यानले उकासेका थिए । शरद भेषावकर र दिपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १ सय २४ बलमा ८३ रनको साझेदारी गरेपछि नेपाल सम्हालिएको थियो । शरदले चौथो विकेटका लागि आरिफ शेखसंग मिलेर ७४ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफल बनाउन सफल बन्यो ।
शरदले १ सय ३९ वलमा ९ चौकाको मद्दतमा ८९ रन बनाए । आरिफ शेखले ३ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन जोडे । त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३ चौकाको मद्दतमा ३७ रन बनाए । विनोद भण्डारीले १५ रनमा आउट भए । ओपनर ज्ञानेन्द्र मल्ल डकआउट भएको खेलमा कुशल भुर्तेल १ रनको ब्यक्तिगत स्कोरमा पभेलियन फर्किए । करण केसीले ७, सुसन भारीले ६ र अबिनाश बोहोराले २ रन बनाएको ईनिङसमा ३ बल खेलेका पवन सर्राफले खातै खोल्न सकेनन् ।
हङकङका अजिज खानले ३, नसरुल्ला राना र ईस्हान नवाजले समान २ तथा रौनक कपुर र अफताव हुसैनले समान १ विकेट लिए । नेपालले समुहचरणको अन्तिम खेलमा पर्सी आयोजक बंगलादेशको सामना गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?