
काठमाण्डौ । बंगलादेशमा जारी एसीसी ईमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत समुहचरणको आफ्नो अनितम खेलमा नेपालले भोली आयोजक बंगलादेशको सामना गर्दैछ । ढाकास्थित साभर क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान पौने ९ बजे सुरु हुनेछ । पहिलो खेलमा ईण्डियासंग पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई हराउदै सेमिफाइनल प्रबेशको संभावना कायमै राखेको हो । सुरुवाती दुबै खेलमा जित निकाल्दै सेमिफाइनल पुगीसकेको आयोजक तेस्रो जित हात पार्दैसमुह विजेता बन्न चाहान्छ । बलियो टोली ईण्डियालाई समेत हराएको आयोजक टोली नेपालबिरुद्ध सहज जितको अपेक्षामा रहेको छ ।
सेमिफाइनल पुग्न नेपालसामु २ वटा बाटो रहेका छन :
१. बंगलादेशलाई हराउनु : आयोजक बंगलादेशमाथी जित निकाल्न सके नेपाल स्वत सेमिफाइनलमा पुग्नेछ । तर त्यसका लागि टोलीले निक्कै मेहनत गर्न आवश्यक छ । अनुभवी खेलाडीको साथ पाएको घरेलु टोली मनोवैज्ञानिक रुपमा पनि सवल रहेकाले नेपालले चुनौतीको ठुलो पहाड चढ्नु पर्ने हुन्छ । तर असंभव भने छैन् । लामो समय राष्ट्रिय जर्सीमा रहेका खेलाडीको बाहुल्यता टोलीमा रहेकाले अनेपेक्षित नतिजा निकाल्न नेपाली टोली सक्षम पनि छ ।
२. ईण्डियाको हार : यसै समुहको अर्को खेलमा सोहि समय ईण्डिया र हङकङबिच प्रतिस्पर्धा हुदैछ । सो खेलमा हङकङले ईण्डियालाई हराए सेमिफाइनल पुग्ने टोलीको छिनोफानो नेटरनरेटका आधारमा हुनेछ । जसको फाईदा तत्कालिन अवस्थामा नेपाललाई पुग्न सक्छ । तर यो समिकरणको संभावना न्युन देखिन्छ । ठुला प्रतियोगीताहरुमा बलिया टोलीविरुद्ध अनेपेक्षित नतिजा निकालेको हङकङले अर्को चामत्किारिक नतिजा निकाले त्यसको फाइदा नेपाललाई पुग्न सक्छ ।
