Logo

अन्नपुर्ण हाम्रो पुर्वाञ्चल गोल्डकपको उपाधिका लागि आर्मी र चर्च ब्वाईज भिड्ने

ई-खेलकुद २०७६ कात्तिक २३ , शनिबार ०६:११ मा प्रकाशित

झापा । अन्नपुर्ण हाम्रो पुर्वाञ्चल गोल्डकप फुटबलको उपाधिका लागि विभागीय त्रिभुवन आर्मी र चर्च ब्वाईज युनाईटेड भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाइनलमा उपाधिको दाबेदार नेपाल पुलिस क्लबलाई १–० ले हराउदै चर्च ब्वाईजले आर्मीसंगको उपाधि भेट पक्का गरेको हो ।
झापाको बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा चर्च ब्वाईजलाई जिताउन खेलको २६ औ मिनेटमा सुनिल खड्काले निर्णायक गोल गरे । भुवन बस्नेतको हेडरलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले बचाउने प्रयास गर्दा भएको रिबाउन्ड बललाई सुनिल खड्काले पोस्टको दिशा दिएका थिए ।
त्यसअघि २३ औँ मिनेटमा पुलिसले पेनाल्टीको अवसर पाएको थियो । चर्च ब्वाइजका कप्तान विष्णु सुनुवारले पुलिसका सुमन लामालाई डिबक्समा तानेर लडाएपछि पुलिसले पेनाल्टीको अवसर पाएको थियो । तर सुमन लामा त्यसमा चुकेका थिए । चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले लामाको प्रहार बचाउदै टोलीको उद्धार गरेका थिए ।
खेलको ५४ औँ मिनेटमा पुलिसका अन्जन राई रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय पुलिस १० खेलाडीमा सिमित बनेको थियो । खेलमा चर्च ब्वाईजका सुनिल खड्का म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
चर्च ब्वाईजले उपाधिका लागि त्रिुभवन आर्मीसंग सोमबार प्रतिस्पर्धा गर्नेछ । गोल्डकपको विजेताले १२ लाख ५० र उपविजेताले ६ लाख २५ हजार हात पार्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?