
काठमाण्डौ । ईरानमा जारी एएफसी अण्डर १९ च्याम्पियनसीप छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । तेहरानस्थित पार रंगशालामा आज भएको खेलमा नेपाल आयोजक ईरानसंग ४–० ले पराजित भएको हो । खेलको ७६ मिनेटसम्म घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको नेपाल अन्तिम १३ मिनेट सम्हालिन नसक्दा फराकिलो हार भोग्न बाध्य भयो । ७७ औ मिनेटमा पहिलो गोल गरेको ईरानले त्यसपछि नेपाली पोष्टमा गोलको बर्षा गरेको थियो । त्यसको ८ मिनेट पछि अर्को गोल गर्दै ईरानले अग्रता दोब्बर पार्यो । गोल खाएपछि पुर्णत लय गुमाएको नेपालले ८८ औ मिनेटमा तेस्रो गोल खाएको थियो । ९१ औ मिनेटमा ईरानले अर्को गोल गर्दै फराकिलो जित हात पारेको हो । यो हारसंगै नेपालको यात्रा समुहचरणमै सिमित बनेको छ । पहिलो खेलमा पनि नेपाल युएईसंग ४–० ले नै पराजित भएको थियो ।
घरेलु मैदान र समर्थकको साथ पाएको ईरानले अधिकांश समय नेपालमाथी दबाव बनाएपनि उसका दर्जन बढि थप अवसर नेपाली रक्षापक्तिले विफल पारेका थिए । खेलमा सबैभन्दा ब्यस्त बनेका नेपाली गोलरक्षक बिशाल सुनारले उत्कृष्ट प्रर्दशन गरेपनि ईरानलाई पुर्णत रोक्न भने सकेनन् ।
