Logo

अण्डर १९ एसियाकपमा नेपाल, आयोजक श्रीलंकासंग पराजित

ई-खेलकुद २०७६ भदौ २० , शुक्रबार ०५:०९ मा प्रकाशित

काठमाण्डौ । एसीसी अण्डर १९ एसियाकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । आज भएको खेलमा आयोजक श्रीलंकाले नेपाललाई ५ विकेटले हराएको हो । नेपालले दिएको १ सय ५९ रनको चुनौती श्रीलंकाले ३३ दशमलब ४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसको जितमा कामिल मिश्राले सर्बाधिक ५५ र अहान विक्रमासिंहेले ३० रनको योगदान गरे । आभिस्का थारिन्दुले अबिजित २५, निपुन धनान्जयले १८ र रास्हान्था डि सिल्भाले १५ रन जोडे ।
नेपालका रासिद खानले २ तथा कमलसिंह ऐरी, पवन सर्राफ र सागर ढकालले समान एक विकेट लिए ।
यसअघि कोलम्बोस्थित आर प्रेमादाशा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रनको मध्यम योगफल तयार पारेको थियो । ओपनर रित गौतमले सर्बाधिक ५४ रन बनाएको ईनिङसमा कप्तान रोहित कुमार पौडेलले ४७ रन बनाए । रासिद खानले अबिजित १५ र हरी बहादुर चौहानले १२ रन जोडे । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
श्रीलंकाका नाभोद दिनुश्री र दिल्साहान मादुशंकाले नेपालको समान ३ विकेट लिए । नेपालले आफ्नो दोस्रो खेलमा आईतबार बंगलादेशको सामना गर्नेछ ।
आजै भएको खेलमा बंगलादेशले युएईलाई ६ विकेटले हराउदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?